काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालका नर्समाथि आक्रमणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जानकारी गराएका हुन्।
प्रजिअ गेलालले घटनामा संलग्नहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही गर्न प्रक्रिया सुरु गरिएको समेत उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिएका थिए। उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेकोसमेत जानकारी गराएका छन्।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन्। उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यसैबीच, उपप्रधानमन्त्री पोखरेलले प्रजिअ गेलाललाई नर्समाथि आक्रमणमा संलग्नमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। महामारीका बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर आपराधिक’ भएको भन्दै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिए। घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पोखरेको भनाइ थियो।
१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्ने मानबहादुर रावत प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेशस्तरका नेता भएको खुलेको छ।
