बुटवल– राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना र खाजा खुवाउन सुरु गरेको छ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एक सय जनालाई एक छाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूल सहित खाजा खुवाउन सुरु गरेको हो।
शुक्रबारदेखि सुरु भएको अभियान एक हप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए। निषेधाज्ञाका कारण होटल र यातायात सेवासमेत बन्द हुँदा अस्पताल भर्ना भएका बिरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए।
उनका अनुसार पार्टीका नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको हो। मंगलापुरस्थित पार्टी कार्यालयमा तयार गरी प्याकेटमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अस्पतालमा वितरण गरिने उनले बताए। सरकारी निकाय गैरजिम्मेवार बनेको अवस्थामा उपचारमा रहेका संक्रमित र स्वास्थ्यकर्मीलाई सहज र प्रोत्साहन गर्ने गरी यो काम गरिएको जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापाले बताए।
