काठमाडौं- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रमुख सचेतक तारा लामा तामाङलाई पदमुक्त गरेको छ। दलका नेता प्रकाश शाहले सभामुखलाई पत्र पठाएर तामाङलाई पदमुक्त गरिएको जनाएका हुन्।
प्रमुख सचेतक रहेका तामाङलाई दलको तर्फबाट अर्को जिम्मेवारी दिनुपर्ने भएको भन्दै पदमुक्त गरिएको सभामुखलाई पठाएको पत्रमा उल्लेख छ। तामाङलाई हटाएपछि प्रदेश सभा सदस्य लालबहादुर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको छ।
पदमुक्त गरिएका तामाङ कञ्चनपुर-१ 'कु'बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने खड्का कञ्चनपुर-२ 'क'बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
त्यस्तै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामबाट निर्वाचित प्रदेश सांसद हुन्। यसअघि एमाले सुदुर पश्चिम संसदीय दलमा सचेतक थिएनन्।
