काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत पुग्न कठिन हुने देखिएको बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण सार्वजनिक गदै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन्।
'गत वर्षपनि कोरोनाको महामारीका कारण नेपालको आर्थिक वृद्धिदर दुई दशकयताकै कम २.१२ प्रतिशत ऋणात्मक रह्यो, यो आर्थिक वर्षमा पनि कोभिडको दोस्रो लहरका कारण सरकारले अनुमान गरेजति आर्थिक वृद्धि हुन चुनौतीपूर्ण छ,' उनले भने।
गत वर्षको आर्थिक वृद्धि २०७२ सालमा गएको महाभुकम्पले बनाएको आर्थिक क्षति भन्दा पनि बढी भएको बताए। आर्थिक वर्ष २०७२/७३ मा नेपालको आर्थिक वृद्धिदर शून्य प्रतिशत थियो।
त्यस्तै अर्थमन्त्री पौडेलले आर्थिक विवरण सार्वजनिक कार्यक्रममा कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा कर्णली र सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरेको उल्लेख गरे। सबैभन्दा बढी आर्थिक वृद्धि बागमती प्रदेशमा ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ३.५२ प्रतिशत रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ।
यद्यपि, पछिल्लो समयमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको हुदा चालु आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्नपनि कठिन बन्दै गएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने अनुमान गरेको छ भने प्रतिव्यक्ति आय ११९१ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ।