काठमाडौं- गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने विषयमा सरकार दृढ रहेको बताएको छ।
भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि बिहीबार राति भएको आक्रमणको घटनालाई निन्दनीय भन्दै मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको जनाएको छ।
घटनाका बारेमा सत्यतथ्य छानविनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिसमेत गठन भइसकेको बताइएको छ।
गृहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको मृत्युको विषयलाई लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण र स्वास्थ्य संस्थामा तोडफोड गर्ने कार्य आफैमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य हुन्। साथै यस्तो कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्ने कुरामा गृह मन्त्रालय दृढ रहको छ।’
उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमाथि हुने यस प्रकारका घटना हुन नदिन, दोषीलाई कानून बमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशनसमेत दिएको गृहले जनाएको छ।
‘आगामी दिनमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा प्रत्याभूति तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा यो मन्त्रालय गम्भीरताका साथ लागिरहेको हुँदा संयमताका साथ बिरामीको उपचार कार्य जारी राख्नु हुन सम्बन्धित सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ’, मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
