सुर्खेत- नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दोषीलाई गैरजमानती हिरासतको नियमअनुसार कारबाही गर्न माग गरिएको छ।
नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले विज्ञप्ति जारी गर्दै दोषीलाई गैरजमानती हिरासतको नियमानुसार कारबाही गर्न माग गरेको हो।
‘सम्बन्धित अपराधीहरुलाई हदैसम्मको मुद्दा चलाई कडाभन्दा कडा सजायको माग गर्दछ’ अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘गैर जमानती हिरासत (जेल विदवाउट बेल) को निमय तत्काल लागू गर्न स्मरण गराउँदछ।’
कोरोना महामारीको अवस्थामा ज्यानको प्रवाह नगरी सेवा दिइरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुले कानुनी राज्यको धज्जी उडाएको संघले जनाएको छ।
‘संसारभरि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर सेवा दिइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘भेरी अस्पतालको आईसीयू कक्षमा केही अमानवीय तत्वहरूले कानुनी राज्यको धज्जी उडाउँदै गरेको आक्रमणप्रति यो संघ दुखी बनेको छ।’

