पर्सा– हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका ६ बस्ने ६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन्।
वीरगन्ज महानगरपालिका ८ बीपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्ता समेत २ जनाले अवैध वित्तिय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका ११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो।
थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो।
उनीहरु उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
