रसुवा - पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्को बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए।
सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ। कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए।
करिब ५०० जनसंख्या भएको लाङटाङ क्षेत्रमा १५–२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको स्थानीय छिमी रेन्जेन तामाङ बताए।
गोसाइँकुण्ड गाउँपालिका-४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन्। रासस
