काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन गरेका छन्।
आफ्नो नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा राणाले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठलाई तोकेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन्। ती सबै रिट संवैधानिक इजलासमा नै राखेर आजदेखि सुनुवाइ हुन लागेको हो।
पुष ५ मा प्रतिनिधिसभाको विघटन भएपछि परेका रिटको सुनुवाइका लागि प्रधान्यायाधीश राणाले न्यायाधीशहरु विश्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न संवैधानिक इजलास गठन गरेका थिए।
अहिले गठन भएको इजलासमा उनले विश्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधानमल्लको स्थानमा तीनजना नयाँ न्यायाधीशरु राखेका हुन्। तेजबहादुर केसीलाई भने अहिले पनि निरन्तरता दिइएको छ।
