शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

Siddartha premir insuranceSiddartha premir insurance

‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

'एक समूह ढोका तोडफोड गर्दै भित्र पस्यो। नर्सहरूको घाँटी समातेर आक्रमण गर्न थाल्यो। उनीहरूको पन्जाबाट फुत्किए नर्सहरू ट्वाइलेटमा लुक्न गए। ट्वाइलेटको ढोकासमेत फोडेर उनीहरू भित्र गए। ज्यान जोगाउन चार जना नर्सले दुई तल्लामाथिबाट हाम फाले।'
 |  शुक्रबार, जेठ १४, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, जेठ १४, २०७८

'एक समूह ढोका तोडफोड गर्दै भित्र पस्यो। नर्सहरूको घाँटी समातेर आक्रमण गर्न थाल्यो। उनीहरूको पन्जाबाट फुत्किएर नर्सहरू शाैचालयमा लुक्न गए। शाैचालयको ढोकासमेत फोडेर उनीहरू भित्र गए। ज्यान जोगाउन चार जना नर्सले दुई तलामाथिबाट हाम फाले।'

triton college

काठमाडौं- स्वास्थ्यकर्मी कोरोना महामारीविरुद्धका दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन्। पीपीईभित्र बाफिएको शरीर बोकेर उच्च जोखिमका साथ जनताको स्वास्थ्य जोगाउन लागिपरेका स्वास्थ्यकर्मीको उच्च सम्मान गर्दै मनोबल बढाउनुपर्नेमा नेपालगन्जका केही अराजक व्यक्तिहरुले तिनै नर्समाथि आक्रमणमा उत्रिएर अमानवीय व्यवहार प्रदर्शन गरेका छन्।

नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि लखेटी-लखेटी आक्रमण भएको छ। कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन चार जना नर्सले अस्पतालको दुई तलामाथिबाट हाम फालेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए।

'दाङका ५४ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार बेलुकी ८ बजे मृत्यु भयो। उहाँ १० दिनदेखि उपचाररत हुनुहुन्थ्यो। आईसीयूमा उहाँको उपचार भइरहेको थियो। दैनिक अवस्था गम्भीर बन्दै गयो। हामीले जति गर्दा पनि बचाउन सकेनौं', उनले भने।

Metro Mart
vianet

उनको मृत्युपछि मान्छे मार्‍याे भन्दै आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै हातपात गर्न खोजेको थापाले बताए। 'एक समूह ढोका तोडफोड गर्दै भित्र पस्यो। नर्सहरूको घाँटी समातेर आक्रमण गर्न थाल्यो। उनीहरूको पन्जाबाट फुत्किएर नर्सहरू शाैचालयमा लुक्न गए। शाैचालयको ढोकासमेत फोडेर उनीहरू भित्र गए। ज्यान जोगाउन चार जना नर्सले दुई तलामाथिबाट हामफाले', उनले भने।

यो पनि पढ्नुस् : भेरी अस्पताल प्रकरण : घटना छानबिनका लागि सात सदस्यीय समिति गठन

हामफालेर ज्यान जोगाएका नर्सहरूलाई सामान्य चोट लागेको प्रमुख थापाले बताए। यसले डरलाग्दो स्थिति सिर्जना भएको उनकाे भनाइ छ।  उनीहरूको आक्रमणपछि राति १ बजेसम्म अस्पतालको माहोल आक्रान्त बनेको थापा बताउँछन्। उग्र समूहको असहिष्णुताका कारण उपचाररत १७५ जना बिरामी पनि जोखिममा परेको थापाको भनाइ छ।

राति १ बजे नेपाल चिकित्सक संघका पदाधिकारी, सुरक्षा अधिकारी र अस्पताल प्रशासनबीच दोषीलाई कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मी सेवामा फर्किएका छन्। थापाले भने, 'कति त घरघरमै मृत्युवरण गर्न बाध्य होलान्। अस्पतालमा सारा दोष चिकित्सकमाथि नै आउँछ र कुटाइसमेत खानुपर्छ। योभन्दा लज्जाको विषय अरू के हुनु?'

दिनरात नभनी सेवा गरिरहेका स्वास्थ्यकर्मीको मनोबल घटाउने काम भएको उनकाे गुनासाे छ। 'यसले हामीलाई निकै दुःखी तुल्याएको छ। दोषीलाई कडा कारबाही हुनुपर्छ। नत्र हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं', थापाले भने।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको विषयलाई लिएर चौतर्फी विरोध भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको निन्दा गरेका छन्।

'यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाउँछ। संक्रमणको जोखिमका बीच स्वास्थ्यकर्मीले आफ्नो कर्म गरिरहेकै छन्। तर, बिरामीको मृत्यु हुनासाथ उनीहरूमाथि आक्रमणसम्म हुन्छ', उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यो पनि पढ्नुस् :भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण, दोस्रो तलाबाट हाम फालेर जोगाए ज्यान

'कयौंले आफन्त गुमाउनुपरेको छ। स्वास्थ्यकर्मीले नै आफन्त गुमाएका छन्। यो कठिन समय हो। यस्तो बेलामा धैर्य गर्न सिकौं। तर, भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं', उनले भनेका छन्।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँछन्। 'हामीले जनताबाट अपेक्षा नगरेको दु:खद घटना घट्यो। महामारीमा हामी सबै पीडामा छौं। सयभन्दा बढी स्वास्थ्यकर्मीले नै संक्रमणबाट ज्यान गुमाइसकेका छन्। यस्तो अवस्थामा पनि हामी चिकित्सकीय धर्म निर्वाह गरिरहेका छौं', उनले भने।

उनी राज्यबाट नै स्वास्थ्यकर्मीको मनोबल बढाउने काम नभएको आरोप लगाउँछन्। राज्यले स्वास्थ्यकर्मीलाई मानसिक र शारीरिक सुरक्षाको प्रत्याभूति नै दिन नसकेको उनको आरोप छ। 'हामी धर्म र पेसाबाट विमुख हुनु हुँदैन। तर, राज्यको उदासीनताका कारण विमुख हुने अवस्था सिर्जना भइरहेको छ। उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको र बिमाको ग्यारेन्टी हुनुपर्छ', उनले भने।

'स्वास्थ्यकर्मी पनि समाजकै मानिस हुन्। आँखै अगाडि दिनकै बिरामी मरेको देख्दा चिकित्सकहरूलाई पनि निकै गाह्रो भइरहेको छ। अहिले सबैले मिलेर महामारीविरुद्ध लड्ने बेला हो। यस्तो असहज परिस्थितिमा पनि स्वास्थ्यकर्मीले आफ्नो पेसागत धर्म छोड्नु भएको छैन। त्यसमा हामी गर्व गर्छौं।'

उनले भेरी अस्पताल प्रकरणको निष्पक्ष छानबिन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई नि:सर्त जेलमा कैद गर्ने कडा कानुनको निर्माण हुनुपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त प्रवक्ता डा. समीर अधिकारी भेरी अस्पताल प्रकरणबारे मन्त्रालले बुझिरहेको बताउँछन्। उनले समाजमा स्वास्थ्यकर्मीले गलत गर्छन् भन्ने नकरात्मक बुझाइको परिणामले यस्ता घटना भइरहेको बताए।

'स्वास्थ्यकर्मी पनि समाजकै मानिस हुन्। आँखैअगाडि दिनकै बिरामी मरेको देख्दा चिकित्सकलाई पनि निकै गाह्रो भइरहेको छ। अहिले सबैले मिलेर महामारीविरुद्ध लड्ने बेला हो। यस्तो असहज परिस्थितिमा पनि स्वास्थ्यकर्मीले आफ्नो पेसागत धर्म छोड्नुभएको छैन। त्यसमा हामी गर्व गर्छौं', उनले भने।

उनले दोषीलाई तत्काल पक्राउ गरी प्रहरी प्रशासनले कारबाही गर्नुपर्ने बताए। दोषीले उन्मुक्ति पाए स्वास्थ्यकर्मीको मनोबल झनै खस्किने भएकाले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने उनकाे भनाइ छ। 

प्रकाशित: May 28, 2021| 03:42 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।