बुटवल - बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि आफन्तहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। गएराति आईसीयूमा उपचारत बिरामीको मृत्यु भएपछि बिरामी कुरुवा आफन्तले उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलार्ई आक्रमण गरेका हुन्।
दोस्रो तल्लाको ब्लक ए को आईसीयू कक्षमा बिरामीको मृत्युलगत्तै बिरामीका आफन्त आक्रोशित हुँदै त्यहाँ उपचार गराइरहेका चिकित्सक र नर्सलाई आक्रमण गरेर लेखट्न थालेको अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए। उनका अनुसार कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि मात्रै नभई सिंगो भेरी अस्पतालमा आक्रमण भएको हो।
मृतकका आफन्तले आक्रमण गर्न थालेपछि नर्सहरू आधाघन्टासम्म शौचालयमा बसेर ज्यान जोगाएको डा. रिसालले बताए। ‘पहिला दुर्ई जना जति थिए, पछि ४-५ जना मिलेर चिकित्सक र नर्सहरूलाई लखेटन थालियो, दोस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाउनुपर्यो,’ डा. रिसालले नेपाल समयलाई भने।
मृतकका आफन्तबाट भएको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ।
जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका छन्।
मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड भएको अस्पतालले जनाएको छ।
घटनालगत्तै मानबहदुरसहित तीन जनालाई पक्राउ गरिएकाे छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
