काठमाडौं- सरकारले चीन, कतार र टर्कीका लागि एक सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए।
मन्त्री ढकालका अनुसार कतारको दोहा विमानस्थल, टर्कीको इस्तानबुल विमानस्थल र चीनका कुनै पनि स्थानमा एक सातामा एक उडान (आगमन र प्रस्थान दुवै) गर्न अनुमति दिने निर्णय गरेको हो।
चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि तीनै देशमा सीमित उडानका लागि खुला गरिएको ढकालको भनाइ छ।
कोरोना संक्रमण बढेको भन्दै सरकारले काठमाडौं उपत्यकामा वैशाख तेस्रो सातादेखि लागू हुने गरी निषेध आदेश जारी गरेको थियो। यसको एक सातापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो।