काठमाडौं– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गोरखा बारपाक सुलिकोट गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ। गएराति तीन जनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ।
मृतक सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिएका छन्। बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने भन्दै उनले जोखिम धेरै भएकाले तत्काल त्यहाँ प्रदेश र संघीय सरकारले चिकित्सकसहितको टोली पठाउन आग्रह गरेका छन्।
अध्यक्ष भट्टले नेपाल समयसँग भने, ‘सिंगो गाउँमा कोरोनाको लक्षण मिल्दोजुल्दो भएका बिरामी छन्। तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यकता छ। गाउँका मानिसहरु परीक्षण गर्नै मान्दैनन्। त्यहाँ स्थानीयलाई परीक्षणका लागि पनि परामर्श गर्नुपर्छ। बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधी वितरण गर्ने काम गर्नु पर्नेछ।’
गाउँमै पुगेर निःशुल्क परीक्षण गरी औषधी वितरण गर्दा पनि स्थानीयले चासो नदेखाएको उनले सुनाए। गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सम्भावित संक्रमितको परीक्षण संख्या अपेक्षित रुपमा बढ्न नसकेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्भावित संक्रमितको परीक्षण एवं पहिचान गरी उनीहरु लाई अन्य व्यक्तिवाट अलग गर्नुपर्नेमा परीक्षण गर्ने व्यक्तिहरुको संख्या नै बढ्न नसक्दा भित्रभित्रै संक्रमितको संख्या बढ्न गई थप जोखिम बढ्न सक्ने अवस्थाको सिर्जना भएको छ।’ परीक्षणको लागि अवस्था सहज बनाइदिन गाउँपालिकाले राजनीतिक दलहरु, संघसंस्थाहरु, स्थानीय क्लब, आमा समूहलगायतलाई अनुरोध गरेको छ।
गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको अवस्था हेर्दा धान्न गाह्रो हुने अध्यक्ष भट्टले बताए। अहिले बारपाकमा करिब एक हजार जनामा रुघाखोकी र ज्वरोको लक्षण देखिएको छ। यसको समाधान तत्काल नभए ठूलो क्षति अध्यक्ष भट्टको चिन्ता छ।
