काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले निर्लज्ज खेल खेलेको आरोप लगाएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफल कार्यक्रममा थापाले प्रधानमन्त्री र राष्ट्रपतिले किचेनमा बसेर निर्लज्ज खेल खेलेको आरोप लगाएका हुन्।
‘यो संविधान संविधानसभाले बनाएको हो। अर्को संविधान बन्ने प्रक्रिया छैन। संविधानसभाको संविधान कहिले पनि मर्दैन। यसलाई मार्न कसैले पनि सक्दैन। यसको संशोधनमात्र हुन सक्छ। संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन। किचेनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर हरहिसाब गरेर खेल खेल्नुभएको छ। यो निर्लज्ज छ,’ उनले भने।
प्रधानमन्त्रीले कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु पनि निर्लज्जता भएको उनले टिप्पणी गरे। ‘धेरै लामो समयसम्म जोडघटाउ गरेर यो निर्णय लिएका छन् उनीहरुले। राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिलाई कहाँबाट आयो?’
