धनगढी - डोटीमा एक महिलामाथी प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको छ।
जिल्लाको आदर्श गाउँपालिका-४ रोडिङ्गे गाउँकी २८ वर्षीय लक्ष्मी भाटलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको हो। उनीसँगै अढाई वर्षकी छोरीसमेत रहेकी बताइएको छ।
आफ्नो पसलमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिले राति साढे १२ बजेतिर उनको शरीरमा प्रज्वलशीलय पदार्थ छर्केर आगो लगाएको प्रारम्भीक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
पसलको एकातर्फ ठूलो प्वाल रहेको र सोही प्वालबाट पसेर शरीरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए।
प्रज्वलशील पदार्थ पेट्रोल, डिजेल वा मट्टीतेल हुनसक्ने मल्लले जानकारी दिएका छन्। घटनामा संलग्न व्यक्तिको खोजीकार्य भइरहेको उनले जानकारी दिएका छन्। अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको मल्लले बताए।
उनी सन्तोष भाटकी जेठी श्रीमती हुन्। उनका श्रीमान् गाडी चालक हुन्। घटना भएको समयमा सन्तोष कान्छी श्रीमतीसँग रहेको बताइएको छ।
