काठमाडाैं- सरकारले मेलम्ची खानेपानी आयोजनाको म्याद सात महिना थप गरेको छ ।
ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) को माग दावी अनुसार नै सरकारले म्याद थपेको हो ।
भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाएको भन्ने कम्पनीको दावी अनुसार सरकारले म्याद थप्नुका साथै १ अर्ब ३ करोड क्षतिपूति समेत दिने भएको छ ।
ठेकेदार कम्पनीले नेपालकै आन्तरिक कारणले काम गर्न नपाएको भन्दै आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन बनेको निरुपण समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार २ सय १२ दिन म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप १ अर्ब ३ करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ ।
आयोजनाको म्याद थपिएसंगै अब मेलम्चीको पानी यसैवर्षको दशैँमा नआउँने निश्चित भएको छ । अघिल्लो वर्षकै दशैँमा मेलम्चीको पानी आउने बताइएपनि मिति सार्दै २०७५ बैशाख १ पुर्याइएको थियो । त्यसपछि पुनः ०७५ को दशैँ भनेर भाखा सारिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४