काठमाडौं - निर्वाचन आयोगका पूर्वप्रमुखहरूले आगामी बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्। पाँच जना पूर्वप्रमुखहरूले एक विज्ञप्ति जारी गर्दै समान प्रतिस्पर्धाको सिद्धान्तमा रही बजेट ल्याउन आग्रह गरेका हुन्।
'२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
यस विषयमा निर्वाचन आयोगले सम्बन्ध पक्षलाई समयमै सजग गराउनुपर्ने उनीहरूको धारणा छ। 'यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं,' उनीहरूले भनेका छन्।
निर्वाचन आयोगका पूर्वप्रमुखहरू सूर्यप्रसाद श्रेष्ठ भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले आग्रहपत्र जारी गरेका हुन्।
