काठमाडौं- कीर्तिपुरका स्थानीय बुद्धिजीवी, ‘प्रतिरोध' समूह र बृहत् नागरिक आन्दोलनले कीर्तिपुरमा मार्च पास गरेको छ। गत वर्ष 'लकडाउन'का बेला भोक खप्न नसकी सडकमा नै निधन भएका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनसहितको सहभागितमा मार्च पास गरिएको हो।
उनीहरुले ‘यो सरकराको छ के पारा? दुष्ट, भ्रष्ट, ज्यानमारा', 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ!', 'गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ', ‘ज्यामी भोकै पारिन्छन् सूर्यबहादुरहरू मारिन्छन्' लगायतका प्लेकार्ड र नारा लगाएका थिए। यस्तै ‘सकिन्नौँ हामी चाहे बन्दुक दे या तोप दे, भोट नमाग ए सरकार खोप दे हामीलाई खोप दे!’लगायतका नारा लगाइएको थियो।
स्वास्थ्य सेवा निशुल्क गरी अस्पतालहरु राष्ट्रियकरण गर्न पनि आन्दोलनमा माग गरिएको थियो।
कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेकोमा प्रदर्शनकारीले असन्तुष्टि व्यक्त गरेका छन्।
