काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउनका लागि नागरिकता अध्यादेश ल्याएको टिप्पणी गरेका छन्।बुधबार वक्तव्य जारी गर्दै अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले नागरिकताजस्तो गम्भीर विषयलाई सत्तास्वार्थको उपकरण बनाइएको भन्दै आपत्ति व्यक्त गरेका हुन्।
सबै नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र पाउनुपर्ने भएपनि संसद् जीवितै भएको अवस्थामा हतारहतार अध्यादेश ल्याउनु बदनियतपूर्ण भएको उनीहरूको ठहर छ।
'नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा सत्तास्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा राप्रपाको गम्भीर ध्यान आकर्षित भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने राप्रपाको दृढ मान्यता छ।'
संसदमा विश्वासको मत लिन नसकेर प्रतिनिधि सभा विघटन गर्ने, विघटनको दुई दिन नपुग्दै संसदमा विचाराधीन नागरिकताका विषयमा अध्यादेश जारी गर्नु गरिएको उनीहरूको आपत्ति छ।
अध्यादेश जारी गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सुझावलाई उपेक्षा गरिएको समेत राप्रपाको आरोप छ।
नागरिकता अध्यादेश संविधानको भावना विपरीत भएको समेत उसको भनाइ छ। 'यो अध्यादेश संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ। अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत राख्दैन,' विज्ञप्तिमा भनिउको छ।
विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरीतका प्रावधानसहित जारी भएको अध्यादेशबारे पुनर्विचार गर्न राप्रपाले माग गरेको छ।
