काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेकी छन्।
कूटनीतिक माध्यममार्फत भारतीय राष्ट्रपति कोविन्दलाई खोप उपलब्ध गराउन पहल गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए। राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पत्राचार गर्दै यस्तो आग्रह गरेकी हुन्।
पत्रमा राष्ट्रपति भण्डारीले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिएको ढकालले जानकारी दिए। भारतले अहिलेसम्म नेपाललाई १० लाख खोप अनुदानमा दिएको छ। त्यसपछि नेपालले भारतबाट २० लाख खोप खरिद गरेपछि १० लाख डोज मात्र आइपुगेको छ।
भारतमा दोस्रो लहर आएर भारत आफैं संकटमा परिरहेको बेलामा राष्ट्रपति भण्डारीले खोपका लागि अनुरोध गरेकी हुन्।
