काठमाडौं- नेकपा एमाले सुदूरपश्चिमको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य प्रकाश रावलले जानकारी दिए।
‘आज हाम्रो संसदीय दलको बैठक बस्यो। सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ’, उनले भने।
उनका अनुसार बजेट, कोरोना महामारीलगायतको परिस्थिति विद्यमान रहेकाले फिर्ता नलिने निर्णय भएको हो।
नेकपा एमालेको सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, केन्द्रको निर्देशनलाई अवज्ञा गर्दै एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो।
‘अहिले हामीले समर्थन फिर्ता नलिने निर्णय गर्यौं। आगामी दिनमा एमालेकै नेतृत्वमा सरकार बनाउने हिसाबले छलफल थाल्ने कुरा भएको छ’, उनले भने।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्ष बहुमतमा छ। एमालेका २४ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ६ जना मात्रै सांसद छन्। आजको संसदीय दलको बैठकमा ओली पक्षका पनि ३ जना सांसद उपस्थित रहेका थिए।
सांसद रावलका अनुसार आजको बैठकमा ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी र माया तामाङ सहभागी थिए भने लिलाधर भट्ट, रतन थापा, ग्याल्बोसिंह बोेहरा सहभागी थिएनन्।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। उनीहरु तीनै जना माधव नेपाल समूहका हुन्।
