मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालबारे जानकारी दिन चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालबारे जानकारी दिन चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित नेपाल राष्ट्रिय मण्डप चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडाैं - नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित नेपाल राष्ट्रिय मण्डप चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ।

छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री संघका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन्।

एसियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको हाम्रो पछिल्लो नयाँ नक्सासहित नेपालबारे चिनियाँ भाषामा परिचय दिइएको छ।

नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा भएका आदानप्रदानसम्बन्धी फोटोले मण्डपका भित्ता सजाइएको जानकारी दिइएको छ।

तेलचित्र, थांका, काठ र धातुका मूर्ति, पस्मिना, नेपाली कागजका डायरी, गरगहनालगायतका हस्तकलाका सामग्री मण्डपको प्रदर्शनीस्थलमा रहेको छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे बताए। 

काठ र इँटाको मौलिक सजावट रहेको मण्डपमा चिया, खुकुरी रम, रुद्राक्ष, बोधिचित्तका मालालगायतका नेपाली उत्पादनको नमुनासमेत प्रस्तुत गरिएको छ। विशेषगरी नेपाली चियालाई चीनमै पनि बजारीकरण र खपतका लागि यस्ता प्रचारप्रसारबाट ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।

बैठक, सभा र सम्मेलनका लागि पनि मण्डपमा स्थान छुट्याइएको नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ।

सिछुवान प्रान्तको एक मात्र छन्तु अन्तर्राष्ट्रिय बन्दरगाह क्षेत्रमा एसिया-युरोप राष्ट्रिय पेभिलियन परियोजनाअन्तर्गत् नेपाली मण्डपको निर्माण गरिएको हो। बेइजिङस्थित नेपाली राजदूतावास र छन्तुस्थित महावाणिज्य दूतावाससँगको समन्वयमा नेपाली कम्पनीले नै मण्डप निर्माण  गरेको हो।

कम्पनीका अध्यक्ष ध्रुव पौडेलका अनुसार बेल्ट एण्ड रोड परियोजनाले समेटिएका एसिया तथा युरोपेली मुलुकसँग चीनलाई स्थल एवं समुद्रबाट जोड्ने रेलमार्ग बन्दरगाह क्षेत्रमा ३२ देशका पेभिलियन छन्।

नेपाललाई चीन हुँदै एसिया तथा युरोपेली मुलुकसम्म प्रवर्द्धन गर्न नेपाल मण्डपले सम्बन्ध सेतुको काम गर्नेछ। हालसम्म नेपालसहित १८ मुलुकका पेभिलियन सञ्चालनमा आइसकेका छन्।

नेपाली मण्डपको उद्घाटन समारोहमा छन्तुका लागि नेपाली महावाणिज्यदूत घिमिरे, सिछुवान प्रान्तको वैदेशिक मामिला कार्यालयका उपप्रमुख चाङ थाओलगायतका चिनियाँ अधिकारी र नेपाली समुदायको सहभागिता थियो। रासस

प्रकाशित: May 26, 2021| 07:09 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।