ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यावहारिक कठिनाइ झेलेर ‘होम आइसोलेसन’ मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पूरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यावहारिक कठिनाइ हुँदाहुँदै व्यपस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम्, परिवार र समुदायका लागि समेत स्वस्थकर हुँदैन।
कोभिडको दोस्रो लहरको संक्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले दुईवटा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। महानगरले वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनः स्थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ।
त्यसैगरी वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापू समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा सञ्चालन गरिएको एक सय १० शय्याको आइसोलेन सेन्टरमा पनि एचडीयू लगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको विज्ञप्तिमा उल्लेख छ। अक्सिजनसहितको यी आइसोलेन सेन्टरमा मनोसमाजिक परामर्शको समेत व्यवस्था छ। पोषणविद्को सल्लाहअनुसार आइसोलेसन सेन्टरमा पौष्टिक, सन्तुलित खाजा र खानाको पनि निःशुल्क व्यवस्था रहेको जनाइएको छ। महानगरले संकलन गरेको तथ्यांकअनुसार संक्रमितमध्ये धेरैजसो ‘होम आइसोलेसन’ मा छ।
