काठमाडौं– समाचारको विषयमा सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी समाचारको विषयलाई लिएर ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृत र ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेललाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघले भनेको छ, ‘प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ। त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो।’ महासंघले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ।
सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच भएको भेटका विषयमा प्रकाशित/प्रसारित समाचारका विषयमा सोधपुछ गर्न भन्दै सर्वोच्चले पत्रकारलाई बोलाएको हो। यस्तै सर्वाेच्चले मंगलबार नै विज्ञप्ति प्रकाशित गरी साेमबार राति प्रधानमन्त्री र प्रधानन्याधीशबीच भेट नभएको जनाएकाे छ।

