काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन्। पार्टीको भावी रणनीति विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरूको बैठक डाकेका हुन्।
यसका साथै विपक्षी गठबन्धनका रणनीतिबारे समेत बैठकमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुधबार बोलाइएको छ,' मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। यसका साथै कोरोना महामारी नियन्त्रण र पार्टीको १४औँ महाधिवेशनको तयारीका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
यसअघि मंगलबार सभापति देउवाले विपक्षी गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। बैठकमा भावी रणनीति तय गर्ने विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट पक्ष, जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षसँग मिलेर गठबन्धन बनाएको छ।
गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा सभापति देउवालाई प्रस्ताव गरेको थियो। तर राष्ट्रपति भण्डारीले देउवाको दाबी अयोग्य भएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यसको केही घण्टामा नै उनले प्रतिनिधि सभा विघटन गरिन्। यसपछि गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीसँग रुष्ट छ।
