काठमाडौं- नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग मंगलबार दौत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा विस्तार भएको हो।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र सोही संस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा मंगलबार बिहान हस्ताक्षर गरेका हुन्।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जानकारी दिने संयुक्त जानकारी पत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्र सङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा धारणा व्यक्त गरेका थिए।
