काठमाडौं– असंवैधानिक रुपले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निरन्तर परामर्श जारी राख्न पूर्वसभामुखहरुले सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्।
संसद् विघटन भएपछिको अवस्थाका बारेमा आवश्यक परामर्श गर्नका लागि सभामुख सापकोटाले पूर्वसभामुखहरुलाई आज बोलाएका थिए।
‘प्रतिनिधिसभामाथि जुन आक्रमण भयो दुई–दुई पटक, यो पूर्णतयाः असंवैधानिक छ। सबै विकल्पमा गएर सरकार बन्न नसक्ने अवस्था भएमात्र संविधानअनुसार नै विघटन हुनेहो। सरासर यो असंवैधानिक छ भनेर हामीले भन्यौं,’ सभामुखसँगको परामर्शमा सहभागी पूर्वसभामुख ओनसरी घर्तीले भनिन्,‘व्यवस्था समाप्त गर्ने काम भएको छ। सभामुखले निरन्तर रुपमा सक्रिय हुनुपर्छ। छिटोभन्दा छिटो न्यायालयले फैसला गर्नुपर्छ। चाँडोभन्दा चाँडो फैसला हुनुपर्छ।’ उनले सभामुखको विशेषाधिकार प्रयोग गर्न सकिने वा नसकिने भन्ने विषयमा पनि छलफल भएको बताइन्।
अर्का पूर्वसभामुख तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब निकास दिने जिम्मेवारी अदालतको काँधमा आएको भन्दै छिटो फैसला दिनुपर्ने धारण राखे। ‘बजेट आउनुभन्दा अगाडि नै फैसला आओस् भन्ने छ। सदन नभएकै बेला जेठ १५ मा बजेट आवश्यक छैन। असार मसान्तसम्म अवधि छ,’ उनले भने,‘ पुननर्स्थापना भएर आएर सदनबाट नै पारित गर्न सकियो भने उपयुक्त हुन्छ।’ सभामुखले कानुनविद्, दलका नेता सांसदहरुसित पनि छलफल गरेर अघि बढ्ने बताएको उनले जानकारी दिए।
‘सभामुखको भूमिका छ, जनमत निर्माण गर्न सक्ने संविधानको मर्म र भावना अनुसार व्याख्या गर्न सक्नुहुन्छ। संविधानको रक्षाका लागि कुनै पनि निर्णय गर्न सक्नुहुन्छ,’पौडेलले भने।