पर्सा– जटिल मानिने फोक्सोको अप्रेसन दूरविनबाटै गरेर पर्साको एक निजी अस्पतालले बिरामीको ज्यान जोगाएको छ।
वीरगन्जको एक निजी कारखानामा कार्यरत भारत आसामका पप्पु बोहराको छातीभित्र छेडेर पुगेको फलामको टुक्रालाई दूरविनबाटै सल्यक्रिया गरी निकालिएको हो।
कारखानामा काम गर्ने शिलशिलामा भएको दुर्घटनाले फलामको एउटा टुक्रा उछिटिएर बोहराको दाहिने छाती छेडेर भित्र पसेको थियो।
पीडाले छटपटिएका बोहरालाई वीरगन्जस्थित नारायणी व्योधा अस्पतालका चिकित्सक डा. शौरभ शर्माको टिमले दूरविन प्रविधिबाट सफल शल्यक्रिया गरेका छन्।
सिटी स्क्यानबाट हेर्दा दाहिने फोक्सोभित्र रहेको फलामको टुक्रालाई दूरविनको मद्दतले सानै घाउबाट सफलतापूर्वक उनको शल्यक्रिया गरिएको डा. मिश्राले बताए।
‘पुरानो प्रविधि भए छातीमा ठूलो घाउ बनाउनुपर्थ्यो र बिरामी पनि अस्पतालमा लामो समयसम्म बस्नुपर्ने हुन्थ्यो,’ उनले भने। केही घण्टाकै शल्यक्रियाले उनको उपचार सम्भव भएको र खर्च पनि जोगिएको नारायणी व्योधा अस्पतालले जनाएको छ।