काठमाडौं- निषेध आदेशको अवधिमा वाणिज्य बैंकहरूले ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। काठमाडौं उपत्यकामा निषेध आदेश सुरु भएको वैशाख १७ देखि जेठ पहिलो साताको अवधिमा ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघले उपलब्ध गराएको विवरणअनुसार यो अवधिमा कर्जाको तुलनामा निक्षेप संकलन बढेको छ। निषेध आदेश सुरु भएको पहिलो साता बैंकहरुले १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। सोही हप्ता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको तथ्यांक छ।
त्यस्तै वैशाख चौथो, अन्तिम साता र जेठ पहिलो हप्तामा निक्षेप संकलन क्रमशः १०, २३ र ६ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै कर्जातर्फ वैशाखको चौथो, अन्तिम र जेठ पहिलो साता क्रमशः १६, १ र ६ अर्बले मात्र बढेको संघले जनाएको छ।