बुधबार, भदौ १०, २०८३

केपी ओलीले गद्दारी गरे : नेपाल

नेकपा (एमाले) को साधारण सदस्यबाट समेत निष्कासित भएका माधवकुमार नेपालले आफूलाई गरिएको कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भनेका छन्।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– नेकपा (एमाले) को साधारण सदस्यबाट समेत निष्कासित भएका माधवकुमार नेपालले आफूलाई गरिएको कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भनेका छन्।

कारबाहीको भोलिपल्ट आज मंगलबार अपिल जारी गर्दै नेता नेपालले केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको भन्दै उनीविरुद्ध प्रतिरोधमा उत्रिने अवस्था बनेको उल्लेख गरेका छन्। 

यस्तो छ नेपालको विज्ञप्ति

कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता, नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस्, जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन्। तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो नेकपालाई विभाजन गर्ने काम फत्ते गरे ।

त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी  शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस(नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आएर पूरा भएको छ। नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् ।

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता  

अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग नै छन् । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे ।यसविरुद्ध आवाज उठाउँदा हामीमाथि  केपी ओलीबाट प्रहार भयो। अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।

यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आवाजलाई आम जनसमुदाय र नेता कार्यकर्ताबीच राखें । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्, वास्ता गरेनन्  बरु प्रतिशोध साँध्ने काम मात्र गरे । त्यही कारण आम जनता, नेता(कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो ।जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।

आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ । त्यसैले अब हामी माथि कानूनी,  राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ ।ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनसमुदायमा हार्दिक अपील गर्दछु।

माधव कुमार नेपाल

प्रकाशित: May 25, 2021| 08:32 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।