काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तै केपी शर्मा ओलीको पनि हुने बताएका छन्।
फेसबुकमा आज स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओली प्रमुख नेताहरूको घेराबन्दीमा रहेकाले उनीप्रति सर्वसाधारणको सहानुभूति रहेको बताएका हुन्।
‘दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ। त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न,’ उनले उल्लेख गरेका छन्, ‘तसर्थ समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौँ।’
अहिले ओलीका विरुद्धमा जस्तै अढाइ दशकअघि नेपाली राजनीतिक गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रित रहेको उनको भनाइ छ। ‘त्यतिबेला उहाँको तीव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो। मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो,’ उनले लेखेका छन्, ‘पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो। अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ।’
उनले ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरू जसरी एक ठाउँ उभिएका छन्, त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आममानिसको नभएको बताए।
‘आममानिसहरूले अहिलेको विवादलाई कुर्सीको लुँछाचुँडीका रुपमा मात्र बुझिरहेका छन्,’ उनले भनेका छन्, ‘अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरू विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन्।’