बुधबार, भदौ १०, २०८३

क्षेत्रीय अस्पतालको साधारण ओपीडी बन्द

गण्डकी प्रदेशकै ठूलो र सस्तो मानिएको सरकारी अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साधारण बहिरंग सेवा (ओपिडी) आजदेखि बन्द गरिएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

पोखरा - गण्डकी प्रदेशकै ठूलो र सस्तो मानिएको सरकारी अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साधारण बहिरंग सेवा (ओपिडी) आजदेखि बन्द गरिएको छ। यो अस्पतालालाई कोभीड डेडिकेटेड अस्पताल बनाउने केन्द्र र प्रदेश सरकारको निर्णय अनुसार आजदेखि साधारण ओपीडी यसरी बन्द गर्दा ननकोभिडका बिरामीलाई भने कुनै विकल्प दिइएको छैन। 

अस्पताल प्रशासनका अनुसार कोभिड बाहेकका विरामीले अब साधारण वहिरंग सेवा लिन पाउने छैनन् । उनीहरूले आफ्नो उपचारको विकल्प खोज्नुपर्ने अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले नेपाल समयलाई जानकारी दिए। 

‘सरकारको निर्णय अनुसार आजदेखि जनरल ओपीडी बन्द गरिएको हो, कोभिड बाहेकका बिरामीले अन्यत्रै उपचारको व्यवस्था गर्नुपर्ने हुन्छ,’ डा. खत्रीले भने। सरकारले केही दिनअघि प्रदेशकै सुविधासम्पन्न, ठूलो र सस्तो अस्पाललाई कोभीड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरे पनि यहाँ उपचार गर्न आउने अरु बिरामीलाई कुनै विकल्प दिइएको छैन।

अस्पतालका अनुसार अहिले कोरोना संक्रमणकै बीचमा पनि दैनिक पाँच सय भन्दा बढी बिरामी साधारण वहिरंग सेवा लिनका लागि आउने गरेका छन्। ‘मैले बुझे अनुसार कोभीड भन्दा पहिले दैनिक १५ सय भन्दा बढी बिरामीलाई अस्पतालले सेवा दिइरहेको थियो,’ डा. खत्रीले भने। 

उनका अनुसार अस्पतालमा मातृशिशु सेवा, हेमोडायलाईसिस सेवा, आईसीयू सेवालगायत अन्य सेवा भने केही दिनका लागि जारी रहनेछन्। 

‘अहिले मेडिकल, सर्जिकल, हाडजोर्नीलगायत खाली गर्न मिल्ने वार्डहरू खाली गरेर कोभीडका बिरामी राख्ने तयारी भइरहेको छ,’ अस्पतालका कोभीड फोकलन पर्सन डा. शरद बरालले भने। उनले केही दिनमा अन्य वार्ड पनि खाली गरेर पुरै अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने जानकारी दिए। 

अन्य रोगका कारण अस्पतालका विभिन्न वार्डमा उपचाररत बिरामीका बारेमा के गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए। सरकारको निर्देशन अनुसार नै आफूहरूले यसो गरेको उनको भनाइ छ।

‘सस्तो मूल्य र भरपर्दो सेवा भएकाले गाउँ-गाउँदेखि बिरामी आउनुहुन्छ, उहाँहरूको विश्वास र भरोसालाई पनि टुट्न दिनु भएन, यसबारे हामीले छिट्टै नै आवश्यक व्यवस्था गर्नेछौं,’ डा. बरालले भने। 

अस्पतालमा अहिले ११ भन्दा बढी विषेशज्ञ विभागले सेवा दिँदै आइरहेको डा. खत्रीले जानकारी दिए। अन्तरंग विभागअन्तरगत ४ सय ५० भन्दा बढी शैय्या रहेका छन्। पूर्वी नवलपरासी बाहेक गण्डकी प्रदेशका विरामीले विश्वास गर्ने र उपचार गराउने सुविधासम्पन्न सरकारी अस्पताल यही मात्रै एक हो। 

कोभीड बाहेकका बिरामीले उपचार नपाउने भएपछि न्यून आय भएका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीले महंगो शुल्क तिरेर निजी अस्पताल तथा मेडिकल कलेजमा उपचार गराउन बाध्य हुनुपर्ने अवस्था आएको छ।

डा. बरालका अनुसार अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७० भन्दा बढी कोभीडका बिरामीले उपचार गराइरहेका छन्। केही बिरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका छन्।

कोभीड वार्डमा बेड खाली हुने वित्तिकै आकस्मिक कक्षबाट बिरामीको अवस्था हेरेर त्यहाँ सार्ने गरिएको उनले जानकारी दिए। यद्यपि, यही दरमा संक्रमण बढ्ने हो र अस्पतालमा यही संरचना कायम रहने हो भने प्रदेशकै ठूलो अस्पतालले पनि उपचार गर्न नसकेर हात ठ्याउनुपर्ने अवस्था आउने भन्दै उनले चिन्ता व्यक्त गरे।

करिब एक महिनाअघि क्षेत्रीय अस्पतालमा कोभीड उपचार केन्द्र बनाउने भन्दै गण्डकी प्रदेश सरकारले ६२ लाख विनियोजना गरेको थियो। उक्त रकमले अक्सिजन पाइपलाइनको विस्ता गर्ने काम भइरहेको डा. खत्रीले जानकारी दिए। 

यसैगरी अस्पताल परिसरमा अक्सिजन प्लाण्ट निर्माण गर्ने भन्दै व्यापारिक घराना बतास अर्गनाईजेसनले पनि रकम संकलन अभियान चलाएको छ। उक्त अभियानबाट दुई करोड भन्दा बढी रकम संकलन भइसकेको छ। प्लाण्टको लागि अस्पतालले सोमबार मात्रै ठाउँ तोकिदिएको जनाइएको छ। 

क्षेत्रीय अस्पताललाई कोभीड डेडिकेटेड अस्पाल बनाउने भन्दै साधारण वहिरंग सेवा बन्द गरिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर भने घटेको छैन। 

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा रहेका ३५ हजार ३  सय २६ संक्रमित मध्ये १० हजार ३ सय ५५ सक्रिय संक्रमित छन्। ती मध्ये ५ सय ५१ जनाले कोभीडकै कारण ज्यान गुमाइसकेका छन्।

प्रकाशित: May 25, 2021| 07:24 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।