धनगढी - सोमबार सम्पन्न नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरे पनि एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्री भने अन्योलमा रहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका तीन मन्त्री छन्। नेपाल समूहका दुई मन्त्रीले नेपाल समयसँग कुरा गर्दै फिर्ता हुनेबारे अहिलेसम्म आफूहरू जानकार बिहिन रहेको प्रतिक्रिया दिएका छन्।
सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले केन्द्र सरकारले निर्णय गरेको सुने पनि प्रदेश सरकारको संसदीय दलको बैठकले आधिकारीक निर्णय गर्ने बताए। उनले आजै दलको बैठक बस्ने बताए। बैठक कतिबेला सस्ने भन्ने एकिन भइसकेको छैन।
त्यस्तै वन बातावरण तथा उद्योग मन्त्री माया भट्टले सरकारबाट फिर्ता हुनेबारेमा केही छलफल नभएको बताइन्। एमाले प्रदेश सभा सदस्य दीर्घ सोडारीले केन्द्रले गरेको निर्णयबारे आज दिउँसो बस्ने दलको बैठकमा छलफल हुने बताए। उनले संसदीय दलको बैठकले गर्ने निर्णय आधिकारीक हुने जानकारी दिए।
नेकपा एमालेको संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पार्टीको आधिकारिक निर्णय आफूहरूलाई आइनसकेको बताउँदै आएपछि कसरी अगाडि बढ्ने विषयमा छलफल हुने बताए।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा देखिएको छ। नेकपा एमालेका मन्त्रीहरू सरकारबाट फिर्ता नहुने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलको दावी छ। उनले बहुमत सदस्यहरू माधव समूहकै रहेकाले त्यसैले फिर्ता नहुने बताए।
सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। हाल प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्रीमा माया भट्ट रहेकी छिन्। तीनै जना माधव समूहका हुन्।
सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित नेकपा एमालेका २५, माओवादी केन्द्रका १४ सांसद् रहेकामा एमालेमा प्रवेश गरेका पूर्व मन्त्री झपट बोहरालाई कार्वाही गरेपछि १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५२ जना प्रदेश सभा सदस्य रहेका छन्।
प्रदेश सभामा रहेका नेकपा एमालेका २५ जना मध्य अहिलेसम्म ६ जना मात्र ओली समूहमा रहेका छन्। वाँकी सभामुख बाहेक १८ जना प्रदेश सभा सदस्य माधब समूहमा छन्।
यता प्रदेश सभामा रहेको अर्को दल नेपाली कांग्रेसले भने एमालेको निर्णय हेरेर मात्र सरकारका बारेमा छलपल गर्ने जनाएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अहिले नै सरकारका बारेमा छलफल नभएको बताए। उनले एमालेका मन्त्री फिर्ता भइसकेपछि छलफल गर्ने बताएका छन्।