स्थानीय प्रशासनले संक्रमितको शव व्यवस्थापनमा खासै चासाे नदिँदा कैयौं दिनसम्म शवहरू बेवारिस अवस्थामा रहने गरेका छन्। त्यस्ता शवहरूकाे व्यवस्थापनमा युवाहरू खटिएका छन्।
जनकपुरधाम – पछिल्ला केही दिन यता प्रदेश २ मा कोरोना संक्रमणदर घट्दै गइरहेको छ। यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या भने उच्च नै छ।
कोरोना संक्रमण दर घट्नु सुखद संकेत रहे पनि मृत्यु दर बढ्दै जानु चिन्ताको विषय हो। त्यसमाथि समयमै शव व्यवस्थापन नहुनु ठूलो समस्याको रुपमा देखा परेको छ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दिनहुँ कोरोना संक्रमणबाट बिरामीको मृत्यु हुने गरेको छ, जसकारण शव व्यवस्थापनमा चुनौती देखिएको छ।
सम्बन्धित निकायले एकाध शवबाहेक अन्य शव व्यवस्थापनमा ध्यान दिन नसकेको स्थानीयवासीको आरोप छ।
शव व्यवस्थापनमा समस्या देखिएपछि जनकपुरधामका युवाहरूले अग्रसरता देखाएका छन्।
‘स्थानीय प्रशासनले संक्रमितको शव व्यवस्थापनमा लापरबाही गर्दा कैयौं दिनसम्म शवहरू बेवारिस अवस्थामा रहने गरेका छन्,’ नेपाल तरुण दल धनुषाका उपसभापति समेत रहेका कोभिड १९ क्विक रेस्पोन्स टिमका सदस्य राकेशविक्रम साहले भने ‘त्यसैले हामीले शव व्यवस्थापनतर्फ अग्रसरता लिन बाध्य भयौं।’
प्रमुख जिल्ला अधिकारीलाई शव व्यवस्थापनका लागि हारगुहार गर्दा पनि वास्ता नगर्ने गरेको उनको आरोप छ।
‘यस्ताे विकराल अवस्थामा संक्रमितको शव लथालिंग देखेर धेरै पिरोल्यो, त्यसैले टिम बनाएर शव व्यवस्थापनमा लागेका हौं।’
‘नेपाली सेना दिनहुँ दर्जन जति शव व्यवस्थापनमा व्यस्त रहेको जानकारी दिएपछि हामी पनि शव व्यवस्थापनमा खटिएका हौं,’ उनले भने। सो समूहले जेठ ४ बाट शव व्यवस्थापन थालेको हो।
प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषा लक्ष्मिनिया गाउँपालिका–४ का ६० वर्षीय पुरुषको मृत्यु भयो। शव व्यवस्थापनका लागि उनका छोरा जिल्ला प्रशासन कार्यालय अगाडि पुगे। तर, कार्यालय बन्द थियो।
धेरै प्रयास गर्दा पनि प्रमुख जिल्ला अधिकारीसँग उनको सम्पर्क हुन सकेन। मृतकका छोराले भने, ‘केही सीप नलागेपछि शव व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिमका राकेशविक्रमजीलाई खबर गर्याैं।’
आफूहरूलाई शव व्यवस्थापनका लागि भनेपछि मानवता जोगाउनकै लागि भए पनि शव व्यवस्थापन गरेको साह बताउँछन्।
‘चार जना साथी मिलेर प्रादेशिक अस्पतालका एक जना सुरक्षाकर्मीलाई खबर गरेर टिमको गाडीमा स्वर्गद्वारमा लगेर अन्तिम संस्कार गर्यौं,’ उनले भने।
त्यस्तै केही दिनअघि मात्रै जनकपुरधाम उपमहानगरपालिका–११ का ३८ वर्षीय एक पुरुषलाई रुघाखोकी ज्वरोले च्याप्यो।
चिकित्सकको सल्लाहमा घरमै औषधि खाँदै आएका उनी गत सोमबार घरमै लडे। वृद्ध आमाबुबा अत्तालिएर जनकपुरधामस्थित कोभिड क्विक रेस्पोन्स टिमका साहलाई गुहारे।
साहसहितको टिम एम्बुलेन्स लिएर उनको घरमै पुगे। उनका छोरालाई बोकेर एम्बुलेन्समा राख्न नसक्ने आमाबुबाले दर्शाएपछि साहसहितका युवाले बोकेर एम्बुलेन्समा राखेर प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएका थिए। तर, सोही दिन ती व्यक्तिको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्यूपछि आफन्तजनले समेत शव उठाउन मानेनन्।
मृत्युपछि अस्पतालबाट शव हटाउन अस्पताल प्रशासनले मृतकका परिवारलाई ताकेता गर्न थाल्यो। उनको परिवारमा उनका बुवा र आमा मात्र थिए। पछि शव अलपत्र परेको थियो।
जिल्ला प्रशासन कार्यालय धनुषासँग गुहार माग्दा समेत वास्ता नगरेपछि युवाहरूको समूहले शव व्यवस्थापन गरेको थियो।
‘पहिलोपटक शव व्यवस्थापनमा सहभागी हुनुअघि मनमा एकदमै डर थियो। तर स्वास्थ्यकर्मीहरूको साहसलाई देखेर मनमा रहेको डर हरायो।’
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना लागे/नलागेको पुष्टि नभएकाले शव व्यवस्थापनमा असमर्थ रहेको बताएका थिए। त्यसपछि परिवर्तनका लागि युवा अभियानका युवाहरूले स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गरी शव व्यवस्थापन गरेका थिए।
शव व्यवस्थापनका क्रममा युवा अभियन्ता सुशील कर्ण, किसन मण्डल, मोहन रौनियार, मनिष सिंहलगायतको सहभागिता थियो।
यता प्रमुख जिल्ला अधिकारी बास्तोलाले नेपाली सेना जति बेला पनि शव व्यवस्थापन गर्न तयार रहेको दाबी गरे। ‘हामी शव व्यवस्थापनका लागि तयार छौँ, तर खबर आउँदैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार कुनै बिरामीको अस्पतालमा मृत्यु भएमा यदि सुरक्षा मापदण्ड अपनाएर शव व्यवस्थापन गर्न तयार छन् भने परिवारलाई समेत जिम्मा लगाउन सकिन्छ।’
यस्तो छ युवाहरूको अनुभव
शव व्यवस्थापनतर्फ अग्रसरता देखाएका युवाहरूलाई देखेर कतिपय तर्सन्छन् भने कतिपयले उनीहरूको कामलाई प्रोत्साहन पनि गरेका छन्।
तर, ती युवाहरूलाई शव व्यवस्थापन गरेर कुनै पछुतो छैन बरु मानवता र संस्कारलाई बचाउन सकेकोमा आत्मसन्तुष्ट छन्।
‘मान्छेबीच यति दूरी बढिसकेछ कि हेलाको दृष्टिले हेर्ने गरिन्छ,’ अभियन्ता सुशील कर्ण भन्छन्, ‘विकराल अवस्थामा संक्रमितको शव लथालिंग देखेर धेरै पिरोल्यो, त्यसैले टिम बनाएर शव व्यवस्थापनमा लागेका हौं।’
‘अचेल कोरोना संक्रमणबाट मृत्यु हुँदा शव व्यवस्थापनका लागि हामीलाई नै खोज्न थालेका छन्।’
आफन्तले नै आफन्तको शव व्यवस्थापनतर्फ ध्यान नदिएको उनी बताउँछन्। संक्रमणका बेला सचेततासँगै मानवता पनि बचाउनु उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
शव व्यवस्थापनमा लागेका अर्का युवा मोहन रौनियारलाई सुरुमा डर नलागेको होइन। ‘पहिलोपटक शव व्यवस्थापनमा सहभागी हुनुअघि मनमा एकदमै डर थियो,’ उनी भन्छन्, ‘तर स्वास्थ्यकर्मीहरूको साहसलाई देखेर मनमा रहेको डर हरायो।’
नेपाली सेनालाई पनि शव व्यवस्थापनमा भ्याईनभ्याई भएपछि सघाउन आफैं शव व्यवस्थापनमा खटिएको उनी बताउँछन्।
अर्का युवा किसन मण्डल छिमेकीले घृणाको दृष्टिले हेर्ने गरेको बताउँछन्। ‘तर, कतिपयले हामीलाई उच्च सम्मानका साथ समेत हेर्ने गरेका छन्,’ उनले भने, ‘अचेल कोरोना संक्रमणबाट मृत्यु हुँदा शव व्यवस्थापनका लागि हामीलाई नै खोज्न थालेका छन्।’