नयाँदिल्ली– भारतमा कोरोना संक्रमित मृतकको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार सोमबार दिउँसोसम्ममा भारतमा ३ लाख ३ हजार ७२० संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २६ दिनमा मात्रै भारतमा १ लाख २ हजार ५३३ संक्रमितको मृत्यु भएको तथ्यांक छ। भारतमा पछिल्लो तीन महिनामा डेढ लाखभन्दा बढी संक्रमितको मृत्यु भएको हो।
यद्यपि विज्ञहरूले भने योभन्दा संक्रमितको मृत्यु भएको हुन सक्ने बताएका छन्। सरकारले सबै कोरोना संक्रमित र मृतकको तथ्यांक यथार्थ रूपमा प्रस्तुत नगरेको उनीहरूको आरोप छ। पछिल्लो समय कोरोना संक्रमितको मृत्युदर बढ्दै गएको भन्दै विज्ञहरूले चिन्तासमेत व्यक्त गरेका छन्।
हाल सबैभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ भने सबैभन्दा बढी संक्रमितको मृत्यु हुने देशको सूचीमा तेस्रो स्थानमा छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् भने अमेरिका र ब्राजिलमा संक्रमित मृतकको संख्या भारतको भन्दा बढी छ।
कोरोना संक्रमणको तथ्यांकलाई नजिकबाट नियालिरहेका लन्डनस्थित मिडिलसेक्स विश्वविद्यालयका गणितज्ञ डा मुरद बनाजीले भारतमा दैनिक रूपमा मृत्यु हुने संक्रमितको संख्या अझ बढ्न सक्ने बताएका छन्। 'मृतकको व्यवस्थापन र रेकर्ड राख्ने काममा विभिन्न राज्यबीच एकरूपता छैन। सहरी र ग्रामीण क्षेत्रमा पनि यस्तो समस्या देखिएको छ,' डा बनाजीले भने, 'संक्रमितको संख्या उल्लेख्य रूपमा घटे पनि ग्रामीण क्षेत्रमा मृत्युका घटना सुन्न बन्द नभएसम्म अवस्था चिन्ताजनक नै हुन्छ।'
पछिल्ला दिनमा कोभिडका बिरामीमा ब्ल्याक फंगस (कालो ढुसी) र ह्वाइट फंगस (सेतो ढुसी) का बिरामी पनि बढ्दै गएकाले कोरोनाको उपचार थप जटिल बन्दै गएको छ।
कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि भारतको स्वास्थ्य प्रणाली अस्तव्यस्त भएको छ। कोभिडबाट मृत्यु हुनेको संख्या बढेपछि अन्तिम संस्कार गर्ने स्थानको समेत अभाव देखिएको छ।