काठमाडौं– महान्यायाधिवक्ता रमेश वडालले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन अध्यादेश ल्याउँदा कसरी राष्ट्रघाती भयो भन्दै प्रश्न गरेका छन्।
नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ का बारेमा पत्रकार सम्मेलनमार्फत प्रष्ट पार्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘केही माननीय र बुझेका मानिसहरुले पनि राष्ट्रघाती भयो भनिरहनुभएको छ,’ उनले भने, ‘संविधानमा भएबमोजिम व्यवस्था अध्यादेशमा राख्दा कसरी राष्ट्रघाती भयो?’
उनले अहिले ल्याएको अध्यादेश नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन मात्रै ल्याइएको भन्दै कुनै विदेशीलाई नागरिकता दिन नल्याइएको बताए। संविधान र सर्वोच्च अदालतको आदेशभन्दा दायाँ बायाँ गएर अध्यादेश नल्याइएको भन्दै राम्रोसँग संविधानमा नागरिकता सम्बन्धी विषय र अध्यादेशमा भएको विषय अध्ययन गर्न उनले सुझाव दिए।