चितवन - चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ। नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरूलाई पक्राउ गरिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका-२६, भगेडीस्थित नारायणी किनारबाट उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानुनी कारबाही गरिने निकुञ्जले जनाएको छ। रासस