काठमाडौं - बागमती प्रदेशसभाका १४ जना एमाले सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।
२४ घण्टे स्पष्टीकरण सोधिएका १४ जनाले एकै व्यहोराको स्पष्टीकरण बुझाएका हुन्।
जेठ ६ गते दलको ह्विप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
‘२०७८-०२-०६ मा भएको राष्ट्रिय सभाको सदस्यको लागि भएको उपनिर्वाचनमा कसले कसलाई मतदान गर्यो भन्ने कुरा पूर्वानुमान गर्दै स्पष्टीकरण सोधिनु स्वयं गैरकानुनी र अलोकतान्त्रिक छ। यस्तो प्रश्न नै पूर्वाग्रह र दुराशययुक्त छ,’ सांसदहरूले स्पष्टीकरणमा भनेका छन्, ‘कुनै पनि मतदातालाई कुन उम्मेदवारको पक्षमा मतदान गरिएको हो भनी सोध्ने अधिकार कानुनले कसैलाई पनि दिएको छैन। अतः यस्तो प्रश्न आफैंमा अनुचित छ। अनुचित प्रश्न सोधेर अनुशासनविरोधी करार गर्न खोज्नु आफैंमा गलत कार्य हो।’