बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. गोविन्द केसीका मिडिया संयोजक सुवेदीलाई दुर्गा प्रसाईंको धम्की (अडियाेसहित)

डा. गोविन्द केसीका मिडिया संयोजक सुवेदीलाई दुर्गा प्रसाईंको धम्की (अडियाेसहित)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले धम्की दिएका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले धम्की दिएका छन्। उनले सुवेदीलाई फोन गर्दै सम्बन्धनको विषयलाई लिएर भौतिक आक्रमण गर्ने धम्की दिएका हुन्।

काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरिरहेको भन्दै डा. केसी पक्षले भनिरहेको छ। यस बिषयमा डा.केसीले विज्ञप्ती नै जारी गरेका थिए। सोही विज्ञप्तिलाई लिएर प्रसाईले भौतिक आक्रमण गर्ने धम्की दिएको सुवेदीले बताए।

संयोजकलाई धम्की दिएपछि सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक जीवन क्षेत्रीले विज्ञप्ति निकालेर प्रसाईको भौतिक आक्रमणको भर्सना गरेका छन्।

सुन्नुहाेस् अडियाे

सोलिडारिटी फर डा केसीले जारी गरेको प्रेस विज्ञप्ति

झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन्। उनले भनेका छन्ः तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्ने गरी हान्दिन्छु। साथै बाबु, आमा र बहिनीको नाम लिंदै सुवेदीलाई ‘डाँका’लगायतका अपशब्द बोलेका छन्।

केही दिन अगाडि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो। लगत्तै उनले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन्। उक्त कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन्।

बीएण्डसी मेडिकल कलेजलाई अनुकुल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ सालमा जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गरेको थियो। त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दाबी प्रसाइँले गर्दै आएका छन्। तर २०७३ साल यता आशयपत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका रुपमा उक्त कलेजको कानुनी हैसियत शुन्य भएको र सम्बन्धन लिने हो भने चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार प्रक्रिया पुर्‍याएर आउनु पर्ने अडान चिकित्सा शिक्षा आयोगले लिंदै आएको छ।

तर प्रसाइँले प्रक्रिया पुर्‍याउनुको सट्टा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सम्बन्धनका लागि घुस मागेको भनेर फर्जी आरोप लगाएका थिए। डा गिरीले उनीविरुद्ध गाली बेइज्जती मुद्दा हालेपछि उनी आरोप पुष्टि गर्न नसकेर केही समय भुमिगत समेत भएका थिए। एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिएः ‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्। बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्?’

त्यस अगाडि प्रसाइँले नेकपा नेता योगेश भट्टराईसँग मिलेर डा. गोविन्द केसी सत्याग्रहका विरुद्ध एक जना अपराधीलाई ‘काउन्टर’ अनशनकारीका रुपमा खडा गरेका थिए। उही अपराधीले पछि गएर सत्तारुढ नेता तथा दलीय भागवण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीको स्वार्थ अनुसार अनियमितता हुन नदिने आइओएमका तत्कालीन डिनलाई कालोमोसो लगाएको थियो। आयोगका उपाध्यक्ष गिरीको घर अगाडि राखिएको बमसँगैका पर्चामा पनि प्रसाइँ र भट्टराइद्वारा परिचालित उही अपराधीको नाम थियो।

तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मार्सी भात ख्वाएर पार्टी एकता गराएको भनेर दाबी गर्ने प्रसाइँ नेकपाको विवाद र फुटको बेला ओलीको पक्षामा खुलेर लागे। प्रधानमन्त्री ओलीकै आडमा उनले चिकित्सा शिक्षा आयोगलाई लत्याएर केयुमार्फत सम्बन्धन लिने प्रयास गरेका थिए। त्यही सिल्सिलामा उनले सुधार अभियन्ता तथा डा केसी अभियानका मिडिया संयोजक सुवेदीलाई धम्क्याएका हुन्।

स्मरण रहोस्, केही महिना अगाडि प्रसाइँको अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै बीएण्डसीले सम्बन्धन पाउने ठोकुवा गरेका थिए। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष लगायतका पदाधिकारीहरूले यस्तो अवैध काम नगर्ने अडान लिएपछि आयोगका आलंकारिक अध्यक्ष रहने प्रधानमन्त्रीले ऐन मिच्दै कार्यकारीको भुमिकामा रहँदै यही जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएका छन्। त्यसबाट आयोगका पदाधिकारीलाई पेलेरै जबर्जस्ती सम्बन्धन दिने सरकारको योजना छ।

यसरी प्रधानमन्त्री ओलीद्वारा संरक्षित व्यक्तिले गुण्डागर्दीपूर्वक हाम्रो अभियानका अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा केसी अलायन्स कडा निन्दा गर्दछ। नागरिकहरूको ज्यूधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ।
 
हाम्रो अभियानका अभियन्ता सुवेदीमाथि यसबीच कुनै भौतिक आक्रमण भएमा त्यसको जिम्मेवारी दुर्गा प्रसाइँको हुने जानकारी पनि गराउन चाहन्छौं। सुवेदी कोभिड संक्रमणका कारण आइसोलेनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी गरेका छैनन् तर छिट्टै प्रसाइँविरुद्ध किटानी जाहेरी दर्ता गर्नेछन्।
 
साथै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती सम्बन्धन अघि बढाइयो भने त्यसको कडा प्रतिवाद गरी मेडिकल शिक्षालाई अपराधी र गुण्डाहरूको नियन्त्रणमा जानबाट रोक्न सम्मानित पदाधिकारीहरूलाई अपिल पनि गर्दर्छौं। साथै नेपालको प्रधानमन्त्री एकाध डन, माफिया र  अपराधीको साँठगाँठबाट नभई आम नागरिकको मतबाट निर्वाचित हुने गरेकाले प्रधानमन्त्री र सरकारको वफादारी र जवाफदेहिता पनि आम नागरिकप्रति हुनुपर्ने कुराको सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउँछौं।

डा जीवन क्षेत्री,
संयोजक,
सोलिडारिटी फर डा केसी अलायन्स

प्रकाशित: May 24, 2021| 02:08 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।