सुर्खेत- सुर्खेतमा कोरोना संक्रमणबाट मृत्यु भएका विपन्न र असहाय नागरिकको दाहसंस्कार निःशुल्क हुने भएको छ। चिता बनाउन सक्ने आर्थिक अवस्था नभएको खण्डमा स्वास्थ्य कार्यालय सुर्खेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग वाणिज्य संघले निःशुल्क दाहसंस्कारको व्यवस्थापन गर्ने भएका हुन्।
आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमितको शव व्यवस्थापनका लागि पनि सहुलियत दरमा दाउरा उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत गरेको छ।
समितिले भेरी नदी किनारको घाटमा आवश्यक पर्ने दाउरा सहुलियत दरमा उपलब्ध गराउन सो क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरिदिन डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गरेको छ।