काठमाडौं– नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा प्रदान गर्ने भएको छ। आइतबार टेलिकमले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंग परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्बीच हस्ताक्षर भएको छ।
कोभिड–१९ को महामारीमा बिरामीको सेवामा खटिने सबै स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न 'धन्यवाद स्वास्थ्यकर्मी अफर' अन्तर्गत यो सेवा उपलब्ध गराउन लागिएको टेलिकमले बताएको छ।
स्वास्थ्यकर्मीले आफ्नो नाममा रहेको टेलिकमको पोस्टपेड प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराउन लागिएको हो। स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने निःशुल्क कल गर्न सक्नेछन्। पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ।
स्वास्थ्यकर्मीहरूको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र सम्बन्धित परिषद्ले टेलिकमलाई उपलब्ध गराएपछि यो अफर उपलब्ध गराइने टेलिकमले बताएको छ।
आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिमकार्ड लिन सम्बन्धित परिषदको सिफारिस लिनुपर्नेछ। यसरी उपलब्ध गराइने सिम कार्डसमेत निःशुल्क हुनेछ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अफर ल्याएको हो। कोरोना महामारीको अवस्था हेरी अफरको अवधि थप गर्न सकिने टेलिकमको भनाइ छ।