काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता कब्जा गर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्। दाहालको सोही प्रवृत्तिका कारण तत्कालीन नेकपामा विवाद आएको उनको भनाइ थियो।
उनले भने, ‘हिंसालाई निरन्तरता दिन नसक्ने भएपछि, सत्ता कब्जा गर्न नसकेपछि ट्याक्टिकल मुभबाट शान्तिपूर्ण बाटोमा लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएपछि फेरि त्यस प्रक्रियाभित्र कब्जा गर्ने नीति हुनु अनौठो होइन।’ दाहालले लोकतान्त्रिक प्रणालीविरुद्ध, संवैधानिक र शान्तिपूर्ण बाटोविरुद्ध लागेर बलजफ्ती तानाशाही लाद्न खोजेको ओलीले बताए।
उनले भने, ‘तर तरिका परिवर्तन हुन बाध्य हुनुभयो। जनताको अभिमतबाट आदेशबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने र सञ्चालन गर्ने बाटो लोकतान्त्रिक र शान्तिपूर्ण बाटो हुनुपर्छ, त्यो प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने नै छैन उहाँहरुलाई।’
प्रधानमन्त्री ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने दल नेपाली कांग्रेस पनि प्रचण्डपथको कब्जाको बाटोमा लाागेको आरोप लगाए। कांग्रेस नेताले केपी ओलीले गराएको चुनावमा भाग लिँदैनौं भन्ने अभिव्यक्तिप्रति ओलीले भने,
‘ओलीले गराएको चुनावमा भाग लिन भन्नु कुन प्रणालीको कुरा हो यो? कसले गरेको चुनावमा चाहिँ भाग लिने? भाग लिन नेपाली कांग्रेसले प्रधानमन्त्रीले टीको लाइदिनुपर्ने। कांग्रेसको यस्तो बोली सुनेर आश्चर्य लागेको छ। कांग्रेस प्रचण्डलाई गुरु थापेर हिँडेको छ।’