काठमाडौं - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि अनेक भ्रम र विभाजन गर्न खोज्ने बताएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएपछि भुसालको यस्तो प्रतिक्रिया आएको हो।
‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरूको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ,’उनले भनेका छन्,‘वास्तवमा परिणाम विपरित हुन्छ।’
यसअघि भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गरिएको थियो। उनलाई दुई पटक त स्पष्टीकरण नै सोधिएको थियो। केहीसमय अघि मात्रै नेता नेपालसहित निलम्बन गरिएका चारजना नेताहरूको निलम्बन फुकुवा गरिएको थियो।
‘उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ,’उनले भनेका छन्,‘यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो। अथवा यसरी भनौँ– राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्थ्यो। भने आजका विश्व विद्यालयहरूमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो।’