विराटनगर- कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा १६६ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। संक्रमित हुनेमा १३४ जना नेपाल र ३२ जना सशस्त्र प्रहरी छन्।
नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) एक, प्रहरी निरीक्षक (इन्सपेक्टर) चार, नायव निरीक्षक (सइ) ११, सहायक निरीक्षक (असइ) १७, प्रहरी हवल्दार ३२ जना तथा ६ जना कार्यालय सहयोगीसहित अन्य प्रहरी जवानमा संक्रमण यकिन भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार संक्रमितमध्ये ११ जना शनिबार दिउँसोसम्ममा निको भएका छन्। सशस्त्र प्रहरीतर्फ सइ र असइ एक/एक, वरिष्ठ हवल्दार दुई, हवल्दार एक, सहायक हवल्दार छ र जवान १२ जनामा संक्रमण पुष्टि भइसकेको छ। चार जना सशस्त्र प्रहरी संक्रमणमुक्त भएका छन्।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना जोखिमको प्रवाह नगरिकन यतिबेला सर्वसाधारण जनतालाई संक्रमणबाट जोगाउने अभियानमा सुरक्षाकर्मी केन्द्रित रहेको बताए। कोरोना नियन्त्रणमा अहोरात्र खटिँदा संक्रमित भए पनि जोखिमका बीचबाट आफू सुरक्षित हुँदै सुरक्षाकर्मी जिम्मेवारी पूरा गर्न लागिरहेको उनको भनाइ छ।
अक्सिजनको सम्भावित अभावलाई मध्यनजर गर्दै सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयले कार्यदल नै बनाएको छ।