धनगढी - कोभिड-१९ महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
ह्युमानिटी फाउण्डेसन नेपालले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र सञ्चारकर्मीहरूलाई १६ हजार थान मास्क, २०० स्यानिटाइजर र ४९ थान पीपीई सेट सहयोग गरेको हो।
फाउण्डेसनले बैतडी जिल्ला अस्पताललाई दुई हजार थान मास्क र १५ थान पीपीई सेट, प्रदेश प्रहरी कार्यालय धनगढीलाई चार हजार थान मास्क सहयोग गरेको छ।
गोकुलेश्वर प्राथमिक अस्पताललाई एक हजार थान मास्क, १९ थान पीपीई सेट र डिलासैनी स्वास्थ्य केन्द्र बैतडीलाई एक हजार थान मास्क र १५ सेट पीपीई सहयोग गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली, नेपाली सेना, सशस्त्र प्रहरीलाई दुई/दुई हजार थान मास्क सहयोग गरेको फाउण्डेसनका सदस्य दीर्घराज उपाध्यायले बताए।
उनले नेपाल पत्रकार महासंघ कैलालीलाई दुई हजार थान मास्क र २०० स्यानिटाइजर हस्तान्तरण गरेको बताए। उनले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्ससँगको सहकार्यमा स्वास्थ्य सामाग्री सहयोग गरेको बताए।
सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएदेखि फाउण्डेसनले प्रदेशका सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको छ।