काठमाडाैं - नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्र हितविपरीत काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्।
लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता महरले जनता कोरोना महामारी जस्तो जटिल अवस्थाबाट गुज्रिरहेको समयमा राष्ट्र र जनताका संरक्षकहरूबाट नै देशमा अस्थिरता सिर्जना गर्ने काम हुनु दुखद् भएको बताए।
'राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भ्रष्टाचारी नजर र अकर्मण्यताका कारण महामारीबाट हजारौं जनताले ज्यान गुमाउँदै छन्। जनता मार्ने काममा स्वयं सरकारको भूमिका देखिन्छ', उनले भने, 'संविधानको घोर उल्लंघन गर्दै ओलीको सिफारिसमा, महाभियोग लगाउनयोग्य राष्ट्रपति विद्या भण्डारीले १४९ सांसदको हस्ताक्षर लत्याएर लज्जास्पद रुपमा मध्यरातको १:४९ मिनेटमा संसद विघटन गरेको घटना असंवैधानिक र अलोकतान्त्रिक छ।' उनले यो राष्ट्र र जनताको हितमा नभएकाले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशद्रोहको मुद्दा लगाउनु पर्ने बताएका छन्।
राष्ट्रपतिको कदमले संविधान उल्लंघन भएकाले भएको नेता महरको ठहर छ। प्रधानमन्त्री र राष्ट्रपतिको क्रियाकलापले संविधानको मर्म च्यातिएको उनले आरोप लगाए।
'सर्वाेच्च अदालतको वैकल्पिक सरकार निर्माणको बाटो बाँकी भएसम्म संसद विघटन गर्न नपाउने नजिरको उल्लंघन गर्दै अदालतको मानहानिसमेत भएको छ। देशको राष्ट्र प्रमुख भन्दा ओलीको मतियारको रुपमा प्रस्तुत हुनुभयो', उनले भने।
कोरोना महामारीको कारण कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने कुनै ग्यारेन्टी नभएको बताउँदै नेता महरले कोरोनाले थिलथिलो बनेको देशलाई झनै चरम आर्थिक संकटमा पुर्याउने काम भइरहेको उनले बताए।
स्वास्थ्य संकटका बेला भ्रष्टाचारको आसय राख्दै भ्याक्सिनसमेत नल्याई जनता मार्ने कार्यमा सरकार नै संलग्न भएको नेता महरको आरोप छ।
लोकतान्त्रिक पद्धति समाप्त गरेर हिटलर शैली स्थापित गर्न ओली उद्दत रहेको उनले बताए। नेता महरले ओली शैलीले जनता मार्दै बन्दुकको भरमा सत्ता चलाउने दुस्साहस पनि देखिएको आरोप लगाए।
'यी आधारलाई हेर्दा प्रधानमन्त्री र राष्ट्रपतिको कदमबाट राष्ट्र अस्थिरतातर्फ जाने, जनता र राष्ट्र कमजोर हुने, पुनः द्वन्द्व निम्तिन सक्ने, लोकतान्त्रिक प्रणाली समाप्त हुने, राष्ट्र र राष्ट्रियता कमजोर हुने, जनता भोक र रोगले चिन्ता बढेको छ', उनले भने।