काठमाडौं - बागमती प्रदेशभित्रका सामुदायिक विद्यालयलाई समायोजन प्रोत्साहन कार्यक्रममा सहभागी हुन सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले दरखास्त आह्वान गरेको छ।
निर्देशनालयको २०७७/७८ को वार्षिक कार्यक्रमअनुसार बागमती प्रदेशभित्र समायोजन भएका सामुदायिक विद्यालयहरूलाई सामुदायिक विद्यालय समायोजन प्रोत्साहन अनुदान कार्यविधि २०७८ अनुसार कार्यक्रम सञ्चालन गरी प्राेत्साहन अनुदान प्रदान गर्न दरखास्त आह्वान गरिएको मन्त्रालयले सूचनामार्फत् जनाएको हो।
प्रोत्साहन अनुदान प्राप्त गरी कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयहरूले जेठ ८ गते देखि १४ गते भित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्न सबै प्रदेशभित्रका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको छ।
शिक्षा विकास निर्देशनालयको वेबसाइटमा राखिएको ढाँचाअनुसार नै फारम भर्न सूचित गरिएको छ।