म्याग्दी - म्याग्दीको बेनी नगरपालिका-२, बगरफाँटका युवाको पहलमा कोरोना संक्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ।
कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ संक्रमितले सेवा पाउने छन्। साथै संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्वारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामग्रीहरू किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताए। संक्रमणबाट बच्न सचेतना अभियान चलाउनुका साथै अप्ठ्यारो अवस्था महसुस भएमा स्वास्थ्य संस्थासम्म लैजान गाडीको समेत व्यवस्था गरेको छ। रासस