काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदमा फेरि केपी शर्मा ओलीको दाबीले दुनियाँ हाँसेको र लाज पनि लजाएको टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हांसेको छ! लाज स्वयं लजाएको छ!’
उनले यसबाट राष्ट्रपति पदको गरिमा पनि पतनतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। शर्माले राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओरालो लगाइरहेको भनेर प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘राष्ट्रपति महोदया! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो। अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ?’