काठमाडौं– नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसेको छ। पछिल्लो समय पार्टी एकतामा देखा परेको समस्याबारे आजको बैठकमा छलफल भएको कार्यदल सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
‘बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देखिएको परिदृश्य, शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विषयमा भएको हस्ताक्षरको विषयमा छलफल भयो,’ उनले भने, ‘पार्टी विवाद समाधानमा केन्द्रित हुँदा यस्ता गतिविधि निकै गम्भीर हुन्।’ उनले कार्यदलको बैठकमा साथीहरुले संसद् विघटन हुने हो कि भन्ने चिन्ता प्रकट गरेको भन्दै आफूहरुले त्यस्तो अवस्था नआउनेमा विश्वास दिलाएको बताए।
विभिन्न कोणबाट छलफल गरेर पार्टी एकतालाई जोगाउने विषयमा नै बैठक केन्द्रित रहेको उनको भनाइ छ।
‘पछिल्लो विषय जे देखिएका छन् यी सबै गम्भीर कुरा हुन्,’ उनले भने, ‘ यति हुँदाहुँदै पनि पार्टीभित्रको संकट समाधान गरेर जानुपर्छ भनेर नै छलफल गरेका छौं।’ उनले कार्यदलको बैठक पुनः बस्नेसमेत जानकारी दिए।